देश

कोरोना महामारी र लकडाउनबीच यसरी मनाइयो बुद्धजयन्ती, के छ, बुद्धजयन्तीको महत्व ?(भिडियोसहित)


काठमाडौँ – आज वैशाख शुक्ल पूर्णिमा अर्थात्, बुद्धजयन्ती । कोरोनाको त्रास र लकडाउनका कारण स्तुप, चैत्य तथा विहारहरूमा बौद्धमार्गीको चहलपहल देखिएन तर घरघरमै बुद्धवचनको चर्चा गर्दै २५६५औँ बुद्धजयन्ती मनाइएको छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । भगवान् बुद्ध सिद्धार्थ गौतमको रूपमा जन्मिएको, ज्ञान हासिल गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनको रूपमा यो दिनको महत्व छ ।

बुद्ध शब्दको अर्थ ज्ञानी अर्थात् जागेको व्यक्ति भन्ने हुन्छ । पूर्णरूपमा सांसारिक मोहको पीडावाट जागेका महान् व्यक्ति, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शकका रूपमा बुद्धको महिमा छ । सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गत वर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको थियो । यस वर्ष पनि कोरोना महामारीका कारण बौद्ध धर्मावलम्बीहरु सहभागी हुन नसक्ने भएकाले पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाइएको छ ।

धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोहबाट छुटाउन बुद्धका वचन अमूल्य हुने बौद्ध धर्मका आचार्यको भनाइ छ । बौद्ध धर्ममा पञ्चशीलको ज्यादै ठूलो महत्व छ । अर्थात् पञ्चशील बौद्धधर्ममा प्रवेश गर्ने मूलद्वार हो । बुद्ध मार्गमा हिँड्नका लागि प्राणीहिंसा नगर्ने, मद्यपान नगर्ने, चोरी नगर्ने वा कसैले नदिएको नलिने, झुठो नबोल्ने र पतिपत्नीबीच बाहेक अरूसँग संसर्ग नगर्ने प्रण आवश्यक मानिन्छ । शान्तिका अग्रदूत मानिएका बुद्धवचन अनुशरण गर्नेहरू विश्वभर नै फैलिएका छन् । तर नेपालमा भने हिमाली भेगमा बढी बौद्धमार्गी पाइन्छन् ।

तिब्बतको आसपास लगायत नेपालको हिमाली क्षेत्रमा बसोबास गर्नेहरूले भगवान् बुद्धलाई अत्यन्तै श्रद्धा गर्छन् । विश्व नै कोरोनाको त्रास र लकडाउनका कारण यो वर्ष चैत्य, स्तुप आदि बौद्धस्थलमा चहलपहल देखिएन । २५६५औँ बुद्ध जयन्ती सबैले घरघरबाट नै मनाएका छन् ।

नेपालमा वर्षको एक दिन वैशाख पूर्णिमाका दिन बुद्धको महिमा गाउने र उनका वचनको स्मरण गर्ने र अरु वेला बेवास्ता गर्ने प्रवृत्ति मौलाइरहेको छ । उनका वचनहरूको पालना गरेर विश्वलाई शान्तिको सन्देश दिन सके मात्र बुद्ध जन्मभूमि भनेर गर्व गर्नुले सार्थकता पाउनेछ ।।