अर्थनीति

१० महिनामा १ सय ६१ टन चिनियाँ खाद्य सामग्री आयत


काठमाडौँ – विगत १० महिनाको अवधिमा रसुवागढी नाका हुँदै १ सय ६१ टन चिनियाँ खाद्य सामग्री नेपाल आयत भएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार चालु आर्थिक वर्ष २०७७७८ मा खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।

तथ्यांक अनुसार फूल तथा सागपात ३७ दशमलव ७ टन, खाद्यान्न दलहन तथा अन्य ५७ टन, मसलाजन्य ३ दशमलव ४ टन, दुधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशमलव ४, चियाजन्य १२ दशमलव ५ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका सामग्री ४१ दशमलव १ टन आयात भएको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि बैशाख मसान्तसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ । आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको छ । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । कार्यालयले गएको साउनदेखि अहिलेसम्म १ सय ६३ वटा सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयको तथ्यांक अनुसार भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७ , चैतमा ६७ र बैशाखमा १० वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । २०७६ माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो । त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना आएको थिएन ।

खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गत आर्थिक वर्षमा केही महिना परीक्षण हुन नसकेको हो । रसुवागढी नाकाबाट पछिल्लो डेड वर्षदेखि नेपाली सामग्री निर्यात भएको छैन ।