विदेश

बाइडेन र पुटिनबीच भेटवार्ता हुने


काठमाडौँ – विश्वको दुई शक्तिराष्ट अमेरिका र रूसका राष्ट्रपतिहरूबीच भेटघाट हुने भएको छ। तिक्ततापूर्ण सम्बन्ध रहेको मानिएका यी दुई राष्ट्रका प्रमुख जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिनबीच आगामी जुन १६ मा स्वीट्जरल्यान्डको जेनेभामा भेट्ने सहमति भएको हो ।
द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार एक दिनको भेटका क्रममा आपसी सम्बन्धमा स्थिरता ल्याउने र भरपर्दो बनाउने विषयमा छलफल हुने आशा गरिएको छ। बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पुटिनसँग पहिलो पटक भेट हुन लागेको हो।

ह्वाइटहाउसका अधिकारीहरूले बाइडेन–पुटिन भेटवार्ताले कुनै ब्रेकथ्रु हुने अपेक्षा गरेका छैनन्। तर पुटिन र बाइडेनले जलवायु परिवर्तन, कोभिड–१९ महामारीविरूद्धको लडाइँमा सहकार्य गर्ने विषयमा कुरा गर्न सक्ने बताएका छन्।

रेगनसँग १९८५ मा वार्ता गरेका गोर्वाचेभले बाइडेन–पुटिन भेट हुने कुराले आफू खुसी भएको बताएका छन्। उनले बाइडेन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा भर पर्दा भएको पनि उल्लेख गरेका छन्। सन् १९८५ मा सोभियत नेता मिखाइल गोर्वाचेभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबीचको भेट पनि जेनेभामा नै भएको थियो।

सोभियत युनियन ढलेपछिका ३० वर्षमा अमेरिका र रूसबीचको सम्बन्ध निकै तिक्ततापूर्ण बिन्दुमा पुगेका बेला बाइडेन र पुटिनबीच भेट हुन लागेको छ। यी दुई नेताहरूबीच व्यक्तिगत रूपमा पनि सम्बन्ध चिसो छ। केही समयअघि बाइडेनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पुटिनलाई ुहत्याराु भनेका थिए। जवाफमा पुटिनले पनि रूखो प्रतिक्रिया दिँदै नयाँ राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका थिए।
पश्चिमाप्रति निकै आक्रामक भाषा प्रयोग गर्ने रूस बाइडेन–पुटिन वार्तामा भने आशावादी देखिएको छ। पुटिनलाई यस्तो उच्चस्तरीय भेटले विश्व मञ्चमा रूसले सम्मान बढाउन सघाउँछ भन्ने लाग्छ। बाइडेनसँगको भेटका क्रममा उनले रूसभित्र र पूर्वी युरोपमा आफ्नो हितलाई अमेरिकाले सम्मान गर्नुपर्ने कुरा राख्ने अनुमान गरिएको छ। रूसले पहिलादेखि नै वासिङ्टनले पुटिनको शासन र पूर्वी युरोपमा उसको प्रभावलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै आएको छ।