अर्थनीति

बजेटमा कोभिडको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था गर्नुपर्ने उद्योगीको माग


काठमाडौँ – उद्योगी व्यवसायीले आगामी आर्थिक वर्षको बजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । आफूहरु कोभिड १९ महामारीको चपेटामा परेको भन्दै उद्योगीहरुले सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेका हुन् ।

कोभिड १९ संक्रमणको पहिलो लहरको क्रममा नै लामो समयसम्मको बन्दाबन्दीको चपेटामा परेका व्यवसायी पुरानै लयमा फर्कन नपाउँदै पुन: दोस्रो लहरमा गरिएको बन्दाबन्दीले थला परेका छन् । व्यवसायलाई पुरानै लयमा फर्काउन तथा निरन्तरताका लागि उद्योगीहरुले वर्तमान अवस्थालाई मध्यनजर गर्दै विशेष प्याकेज घोषणा गरिदिन सरकारसँग माग गरिरहेका छन् ।

उद्योगी व्यवसायीले बजारलाई चलायमान बनाउने गरि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेका हुन् । कोभिड १९ को दोश्रो लहर संगै जारी भएको निषेधाज्ञाका कारण ९० प्रतिशत भन्दा कम आर्थिक गतिविधि मात्रै चलेकाले बजार चलायमान बनाउन प्रभावित क्षेत्रको वर्गिकरण गरि व्यवसायीले अनुभूत गर्ने गरि बजेटमा आवश्यक व्यवस्था गरिनुपर्नेमा उनीहरुको जोड रहेको छ ।

उद्योगी व्यवसायीले विद्यमान अवस्थामा साना तथा मझौला उद्योगीले कर्जा प्राप्त गर्न नसकिरहेकाले विद्यमान कानुनलाई परिर्वतन गर्नुपर्ने पनि बताएका छन् । आगामी बजेटले कोभिड महामारीबाट नागरिकलाई बचाउनका लागि खोप र स्वास्थ्य पुर्वाधारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनीहरुको सुझाव छ । अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि आर्थिक गतिविधि बढाउने र रोजगारी श्रृजना गर्ने गरि व्यवसायीक क्षेत्रलाई प्राथमिकता दिने कार्यक्रमहरु बजेटमा समावेश गरिनुपर्नेमा उनीहरुको जोड रहेको छ ।

कोभिडका कारण मारमा परेको अर्थतन्त्रलाई चलायमान बनाई उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनका लागि मुल्यअभिवृद्धि करको दर घटाएर आयकरको दायरा फराकिलो बनाउनुपर्ने पनि उनीहरुको सुझाव रहेको छ । कोभिड संक्रमणका कारण उद्योगहरु संकटमा पर्दा ती उद्योगमा आश्रीत श्रमिकको ठूलो संख्या प्रत्यक्ष रोजगारीबाट विमुख हुने र तीनमा आश्रित परिवारको आर्थिक अवस्था पनि प्रभावित हुने देखिएको छ । त्यसैले सरकारले उद्योगलाई चलायमान बनाउन विषेश प्याकेजसहितको व्यवस्था गर्नुपर्ने माग उद्योगी व्यवसायीले उठाउँदै आएका छन् ।