राजनीति

सभामुखलाई पूर्वसभामुखहरुको सुझाव– प्रतिनिधिसभा पुन:स्थापनाका लागि परामर्श जारी राख्नुस्


काठमाडौँ – सभामुख अग्नि सापकोटालाई पूर्वसभामुखहरुले असंवैधानिक रुपले विघटन प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निरन्तर परामर्श जारी राख्न सुझाव दिएका छन् । अहिले मुद्दा अदालतमा पुगेकाले तत्कालै संसद् बैठक बोलाउँदा नकारात्मक सन्देश जाने र अदालतलाई नै अहिले सहयोग गर्नुपर्ने तर आवश्यक पर्दा सभामुखले विशेषाधिकार प्रयोग गर्न तयार हुनुपर्ने सुझाव दिएका थिए ।

प्रतिनिधिसभा विघटन भएपछिको अवस्थाका बारेमा आवश्यक परामर्श गर्नका लागि सभामुख सापकोटाले पूर्वसभामुखहरुलाई आज बोलाउनुभएको थियो । एक पूर्वसभामुखका अनुसार पूर्वसभामुख कृष्णबहादुर महराले आवश्यक परे संसद्को बैठक बोलाउन सभामुख तयार रहनुपर्ने सुझाव दिएका थिए । पूर्वसभामुख ओनसरी घर्तीले पनि अन्तिम विकल्पमा संसद् बोलाउन तयार रहनुपर्ने सुझाव दिएको स्रोतले जानकारी दियो ।

पूर्वसभामुखहरुको सुझावपछि सभामुख अग्नि सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार भएको बताएका थिए । पूर्वसभामुखहरुले दुई दुईपटक विघटन गरिएको हुँदा पूर्णयता असंवैधानिक रहेको बताएका थिए । मंगलबारको बैठकमा पूर्वसभामुख सुवास नेम्वाङ भने अनुपस्थित थिए ।