कोरोना विशेष

भेरोसेल’ दोस्रो डोज लगाउन खोप कार्डको किर्ते, ठमेल परिषद् उपाध्यक्ष शर्माको संलग्नता


काठमाडौँ – काठमाडौँमा कोरोनाविरुद्धको पहिलो डोजको चाइनिज खोप नलगाएपनि कार्डको दुरुपयोग गरि दोस्रो डोजको खोप लगाउन खोज्नेहरु फेला परेका छन् । काठमाडौँ महानगरपालिका १७ नम्बर वडाको स्वास्थ्य सस्थामा मंगलबार चाइनिज खोप भेरोसेल लगाउन खोप कार्ड बोकेर एक दम्पत्ति आएका थिए ।

तर ती दम्पत्ति पहिलो डोजको खोप नलगाई दोस्रो डोजको खोप लगाउन आएको पत्ता लागेपछि विषय बाहिर आएको हो । काठमाडौँ महानगरपालिका १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धरका अनुसार लामिछाने थर भएका ती दम्पत्तिले बोकेर आएको खोप कार्डका आधारमा छलकपट पत्ता लागेको हो ।

अध्यक्ष मानन्धरले भने, ‘खोप कार्डको दुई प्रति हुन्छ, एउटामा सेवाग्राही प्रति लेखिएको हुन्छ, अर्काेमा स्वास्थ्य सस्था प्रति लेखिएको हुन्छ । पहिलो खोप लगाउने बेला सेवाग्राही प्रति सेवाग्राहीलाई प्रदान गरिन्छ भने अर्काेप्रति स्वास्थ्य सस्थाले नै राख्दछ । तर ती दुई जनामध्य एक जनाले सेवाग्राही प्रति र अर्काले स्वास्थ्यसस्था प्रति नै बोकेर दोस्रो डोजको खोप लगाउन आएपछि स्वास्थ्यकर्मीहरुले सोधपुछ गर्दा कार्डको दुरुपयोग र छल गरेर दोस्रो डोजको खोप लगाउन आएको पत्ता लागेको हो ।’

अध्यक्ष मानन्धरका अनुसार उनीहरुले यस्तो कार्ड ठमेल पर्यटन विकास परिषद्बाट प्राप्त भएको बताएका छन् । स्वास्थ्यको गम्भीर संवेदनशिलतामा लापरवाही गरेको पाइएपछि प्रहरी वृत्त सोह्रखुट्टेले आवश्यक अनुसन्धान सुरु गरेको छ । अध्यक्ष मानन्धरका अनुसार दुई व्यक्तिले खोप कार्डमा पहिलो डोजको खोप लगाएको भनेर आफैँले भरेर दोस्रो डोजको खोप लगाउन स्वास्थ्य सस्था पुगेका थिए ।
सोधपुछका क्रममा उनीहरुले ठमेल पर्यटन विकास परिषदका तृतीय उपाध्यक्ष भविश्वर शर्माले उपलब्ध गराएको बताएका छन् ।
कोरोना महामारी बढिरहेको बेला भ्याक्सिनको महत्व बढेर गएको छ । आम नागरिकले खोप नपाएका भन्दै आक्रोश पोखिरहेका बेला यस्तो गम्भीर विषयमा पहुँचका आधारमा पहिलो खोप नै नलगाएको दुर्य व्यक्तिलाई शर्माले खोप कार्ड उपलब्ध गराएका हुन् । ती दुई व्यक्ति शर्माको नजिकका नातेदार भएको श्रोतको भनाई छ । पहिलो डोजको खोप लगाएको चार हप्ता पछि मात्रै दोस्रो डोजको खोप लगाउन सुरु गरिएको हो । तर खोपको नियम नै मिचेर यसरी कार्डको दुरुपयोग गरेको पाइएको हो ।

यता ठमेल पर्यटन विकास परिषदका अध्यक्ष प्रकाश राणाले आफ्नो सस्थाको नाम जोडिएकाले आवश्यक अध्ययन गरिरहेको बताएका छन् । उनले भने, ‘हाम्रो सस्थाका तृतीय उपाध्यक्ष भविश्वर शर्माको नाम जोडिएको सुनेको छु । के रहेछ अध्ययन गरेर मात्रै भन्न सक्छु ।’

को हुन् भविश्वर शर्मा ?

भविश्वर शर्मा ठमेल पर्यटन विकास परिषदका तृतीय उपाध्यक्ष हुन् । पर्यटन व्यवसायीको रुपमा उनले पेषा गर्दै आएका छन् । उनले सर्वोच्च अदालतका प्रधानन्यायधिस चोलेन्द्र शमसेरको भाईको घरमा सामान्य व्यवसाय (स्पा) सञ्चालन गर्दै आएका छन् ।

सो घरको सम्झौता बमोजिम लामो समयदेखि भाडा समेत नतिरी व्यवसाय गर्दै आएको बुझिएको छ । उनी नेकपा माओवादी निकट पर्यटन व्यवसायी हुन् । हाल परिषद्को तृतीय उपाध्यक्ष रहेका शर्मा आगामी जेष्ठ २९ गते हुने परिषदको निर्वाचनमा अध्यक्षको तयारी गरिरहेका छन् ।