राजनीति

ठाकुर–महतो सरकारमा जाने, यादव भन्छ कारवाही गर्छाै


काठमाडौँ – मधेश केन्द्रीत दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोका पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएका छन् । आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएको र अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाएकोले सरकारमा जानुपर्ने मनसाय ठाकुर र नेता महतोले बनाएका हुन् ।

प्रधानमन्त्री ओलीले पहिलेदेखि नै रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन आग्रह गरिरहे पनि वातावरण बल्ल बनेको जसपाका एक कार्यकारिणी समिति सदस्यले बताए। ती नेताका अनुसार प्रधानमन्त्री ओलीले खालि रहेका सात मन्त्रालयमा मन्त्री पठाउन आग्रह गरेका छन् । नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ। ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखेका छन्।

माओवादी छाडेका एमाले आएकाहरू गैरसांसद रहेकोले मन्त्रीबाट हट्नुपरेको थियो। साथै मन्त्रालयहरू हेरफेरसमेत गर्न सकिने ओलीले बताइरहेका छन्।

संविधानअनुसार २५ जना मन्त्री बनाउन मिल्छ। स्रोतकाअनुसार ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ। तर अब सात जना मात्रै मन्त्री थप गर्न मिल्छ। आकांक्षी धेरै भएकोले व्यवस्थापन गर्न ८ जना मन्त्री दिनुपर्ने ठाकुरले ओलीसँग माग गरेको स्रोतको दावी छ।

जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष भने आफूहरु पनि सरकारमा नजाने र आफ्नो पार्टीबाट सरकारमा जानेलाई पनि केन्द्रीय कार्यकारिणी समिति बैठक गरेर कारवाही गर्ने बताईरहेका छन् । उनीहरूले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहेका छन्। ओली सरकारको विकल्प खोज्नुपर्नेमा भट्टराई र यादव छन् ।
महन्थ ठाकुरनिकट नेता सुरेन्द्र झाले ओली सरकारमा जानेबारे पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्। आफूहरूको मुख्य सवाल सरकारभन्दा पनि मागहरू रहेको र त्यो ओली सरकारले पूरा गरिरहेको सहकार्य हुन सक्ने उनले बताए।

आफूहरूका मागमध्ये रेशम चौधरीको रिहाइ हुन बाँकी रहेकोले विपक्षी गठबन्धन कसरी अगाडि बढ्छन् र पार्टीभित्र कस्तो समीकरण अघि बढ्छ यी सबै विषयले सरकारमा जानका लागि केही समय लाग्न झाले बताए ।