राजनीति

नेपाल पक्षीय १४ सदस्यले बुझाए स्पष्टीकरण


काठमाडौँ – एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका बागमती प्रदेशका १४ प्रदेशसभा सदस्यले एकमुष्ठ रुपमा पार्टीको संसदीय बोर्डमा स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरण बुझाएका एमालेको बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।

बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित नेपाल पक्षका सांसदहरु राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीसँग स्पष्टीकरण मागेको थियो।

एमालेका आधिकारिक उम्मेदवारलाई ६ जेठमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान नगरेपछि प्रदेश संसदीय बोर्डले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो। मुख्य सचेतक निरौलाका अनुसार प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नपाइएमा उनीहरुलाई पार्टी विधानानुसार कारवाही गरिने छ । उनीहरुले उक्त निर्वाचनमा एमाले उम्मेदबार रामबहादुर थापा बादललाई मतदान नगरी संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका डा.खिमलाल देवकोटालाई मतदान गरेका थिए।
निर्वाचनमा देवकोटा नै विजयी भएका थिए। उनी एमाले वरिष्ठ नेता माधव नेपालकै प्रस्तावमा विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका थिए।