राजनीति

राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ । जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने गरिअध्यादेश २०७८ जारी गरिएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।

संविधानको धारा ११ को उपधारा ३ मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।