राजनीति

सबै दल चुनावको तयारीमा लाग्यौं : बिजुक्छे


काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले मध्यावधि निर्वाचनलाई स्वागत गर्नुपर्ने र यसको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका हुन् ।

अध्यक्ष बिजुक्छेले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् भंग गरेर चुनाव घोषणा गरिसकेको अवस्थामा अब सबै पक्ष चुनावमा केन्द्रित भएर लाग्नुपर्ने बताए । सबै राजनीतिक दलमा अनुशासन भंग भएको भन्दै उनले अब चुनावमार्फत सबैलाई अनुशासनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

नेमकिपाले पहिल्यैदेखि संसद्ले निकास नदिने अवस्थामा चुनावमा जानु उपयुक्त रहेको बताउँदै आएको भन्दै बिजुक्छेले परिस्थितिले अब चुनावको विकल्प नभएको देखिएको भन्दै विरोधतर्फ नलागी तयारीमा लाग्नुपर्ने बताए ।

लोकतन्त्रमा जनताको आदेश नै सर्वोच्च हुने भएकाले अब नयाँ आदेश लिएर सोही अनुसार गर्नुपर्ने बिजुक्छेका धारणा छ । उनले विपक्षी पाँच दलको गठबन्धनलाई कटाक्ष गर्दै चुनावको विरोध गर्छौँ, आन्दोलन गर्छौँ भन्नुको कुनै अर्थ नभएको बताए ।

महामारीको समयमा पहिला जनताको ज्यान सुरक्षित गर्नुपर्छ भन्दै बिजुक्छेले त्यसपछि अरु कुरामा ध्यान जानुपर्ने औँल्याए । महामारी नियन्त्रण र चुनावको तयारी सँगै गर्नुपर्ने उनको भनाइ छ ।