राजनीति

संसद विघटन अलोकतान्त्रिक र निरंकुशतातर्फ उन्मुख : सर्वोच्च बार एशोसिएशन


काठमाडौँ – सर्वोच्च अदालत बार एशोसिएशनले राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन गरिएको कार्य अलोकतान्त्रिक र निरंकुशतातर्फ उन्मुख रहेको दावी गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै सर्वोच्च बार एशोसिएशनले धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री दावीमा वस्तुनिष्ठ तरिकाले निष्कर्षमा नपुगेको र सार्वभौम प्रतिनिधिसभा छलेर षड्यन्त्रमूलक ढंगले संसद विघटन गरिएको भन्दै आपत्ति जनाएको हो ।

सर्वोच्च बारले धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री चयनका लागि संसदीय प्रक्रिया नै पूरा नगरिएको बताएको छ । त्यस्तै संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमले अदालतको अवहेलना गरेको पनि विज्ञप्तिमा दावी गरिएको छ । धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत निलिई धारा ७६ को उपधारा ५ अनुसारको प्रक्रिया सुरु गर्नु संविधान विपरीत भएको भन्दै सर्वोच्च बारले सांसदहरुले पनि त्यसलाई समथर्न गर्नु गैर संवैधानिक भएको भनेको छ ।