राजनीति

राष्ट्रपतिको कदमविरुद्ध नेताहरुको विरोघ


काठमाडौँ – प्रतिपक्षीमा रहेका विभिन्न दलका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको विरोध गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै राष्ट्रपतिको यस्तो कार्यले संविधानको सामूहिक बलात्कार भएको भन्दै बताउनु भएको छ । उहाँले महामारीको यस्तो समयमा मध्यावधिको रङ्गिन सपना महँगो पर्नेसमेत चेतावनी दिनुभएको छ । शर्माले मध्यरातमा संसद् भङ्ग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा भएलगत्तै यो ट्रवीट गर्नुभएको हो ।

यस्तै अर्का कांग्रेसका नेता रमेश लेखकले पनि राष्ट्रपतिको यो कार्यको विरोध जनाउनु भएको छ । लेखकले आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको टिप्पणी गर्नुभएको छ । उहाँले अहिलेको राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन नसक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो।’

https://www.facebook.com/DrShekharKoirala/posts/1809804752532268

यस्तै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्णय सार्वजनिक भएलगत्तै ट्वीट गर्दै प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिनुभएको छ ।

राष्ट्रपतिले हिजो मध्यरातमा प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न गर्नुभएको थियो । परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने एमालेकै सांसदहरुको कारण देश मध्यावधि चुनावमा गएको बताउनुभएको छ । एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेकाले देश मध्यावधितर्फ गएको उहाँको भनाइ छ ।