राजनीति

पोखरेल नेतृत्वको सीसीएमसी खारेज, प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति


काठमाडौँ – सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई खारेज गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को अध्यक्ष अब प्रधानमन्त्री आफै रहने भएका छन् । यसअघि संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल त्यसको सदस्य रहनेछन् ।

सरकारले पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीलाई खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरेको हो । समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।

सरकारले बिहीबार जारी गरेको र शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेपछि लागु भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार अब २०७७ साल वैशाख १६ गते मन्त्रिपरिषद्ले गठन गरेको सीसीएमसी र सीसीएमसी निर्देशक समिति कोरोनाको रोकथाम र नियन्त्रण गर्न नयाँ कानुन आएसँगै निष्क्रिय भएको छ ।