कोरोना विशेष

विवाह गरेका १५ दिनमा नै कोरोनाका कारण दुलाहाको मृत्यु


काठमाडौँ – नवविवाह । जीवनकालको नयाँ अध्यायको प्रारम्भ । नयाँ जोस र नयाँ सोच । वैवाहिक जीवनमा गाँसिने बित्तिकै हरेका जोडीले अब आगामी दिन आफूले जिउने जीवनको बारेमा सोच्ने, सल्लाह गर्ने गर्छन् । तर ,अफसोस रुपन्देहीका एक जोडीमा भने यो सब जुरेन । बुटवल–११ देवीनगरका २९ वर्षीय नवविवाहित दीपक ज्ञवालीको बिहे गरेको १५ दिनमा नै कोरोनाका कारण मृत्यु भएको छ । बुटवलमा सञ्चालित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उनको उपचारको क्रममा अक्सिजन अभावका कारण मृत्यु भयो ।

त्यसै दिन अस्पतालको आईसीयूमा उपचार गराईरहेका अन्य चार जनाको पनि अक्सिजन अभावकै कारण ज्यान गयो ।


उनको घर–परिवारले वैशाख १५ गतेका लागि विवाहको मुहुर्त निकालेका थिए । उनलाई भने १० गतेदेखि नै ज्वरो आउन थालिसकेको थियो । ज्वरो आएर स्थनीय मेडिकलमा जाँच गराउँदा टाईफईड भन्दै पाँच दिनका लागि औषधि दियो । केही दिनको औषधि सेवनबाट पनि स्वस्थ्यमा केही सुधार नभइसकेपछि पुनः त्यही मेडिकलमा गएर समस्या भन्दा पुरा औषधि सेवन गरेपछि विस्तारै आफै कम हुँदै जाने मेडिकलका सञ्चालकले फर्काइदियो ।
विवाहको दिनसम्म पनि खास्सै सुधार नभएपछि औषधिकै भरमा सीमित जन्तीका साथ हिडे । उता गुल्मीबाट केटी पक्ष बुटवल आएका थिए । बुटवलकै एक होटलमा बिहे सकेर दिउँसो २ बजे दुलही लिएर दीपक फर्किए । त्यसै दिन दीपकलाई झन् च्याप्यो र उनका दाईले लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएर पीसीआर परीक्षण गराए । अर्को दिन रिपोर्ट पोजिटिभ आयो । रिपोर्ट पोजेटिभ आएपनि घरमै हेरचाह गर्ने मनसायले अक्सिजनसहित दीपकलाई घरमा ल्याइयो ।

भोलिपल्ट दिउँसो सास फेर्नमा समस्या आएपछि दीपकलाई मेडिटेक अस्पताल पुर्‍याइयो । अक्सिजन लगाएर एक दिन त्यहीँ राखियो । १८ गते उनलाई धागो कारखानास्थित कोरोना विशेष अस्पताल लगियो । एक रात अक्सिजनसहित आइसोलेसनमा राखिए पनि अवस्था नसुध्रिएपछि भोलिपल्ट आईसीयूमा सारियो । वैशाख २९ को साँझ ५ बजे एकाएक अस्पतालमा अक्सिजन सकिएको भन्दै नर्स आत्तिए । १० दिनदेखि आईसीयूमा उपचार गराईरहेको उनको अक्सिजन अभाव कै कारण मृत्यु भयो । त्यसै दिन अस्पतालको आईसीयूमा उपचार गराईरहेका अन्य चार जनाको पनि अक्सिजन अभावकै कारण ज्यान गयो ।