समाचार

किन अभाव भईरहेको छ अक्सिजन सिलिन्डर ?

नेताले लुकाए अक्सिजन सिलिन्डर, जनता अक्सिजन नपाएर मर्दै


काठमाडौँ – आवश्यकता भन्दा ठूलो संख्यामा अक्सिजन सिलिन्डर उपलब्ध भएपनि कोरोना संक्रमितहरु भने अक्सिजन अभावमै ज्यान गुमाईरहेका छन् । सरकारी तत्थ्याङक अनुसार देशभर १ लाख १० हजार बढि सिलिन्डर रहेपनि ठूलो संख्यामा होल्ड हुँदा यस्तो अवस्था आएको हो ।

चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसद् गंगा चौधरीको घरमा भेटिएको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भैरहेको छ । जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सिलिण्डर थुपारेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।

यता सांसद चौधरीले भने दाङ पठाउन ती सिलिन्डर जम्मा गरेको स्पष्टिकरण दिएकी छन् । आफूलाई बद्नाम गराउन खोज्नेहरुले गलत अर्थ लगाएर अफवाह फैलाएको उनको आरोप छ । तर यहि सन्दर्भमा लुम्बनी प्रदेशका मुख्यमन्त्री लेख्छन सेवाका नाममा व्यक्तिले उद्योगवाट अक्सिजन सिलिण्डर लैजादा संस्थागत वितरणमा संकट आयो । अस्पतालको उपचार प्रभावित भयो । सबै गम्भीर बनौं ।

अहिलेको वास्तविकता यहि दुई घटनाले प्रष्ट पार्छ । अक्सिजन अभावमा संक्रमितले ज्यान गुमाईरहेको अहिलेको अवस्थामा पनि माग भन्दा सिलिन्डरको संख्या ९५ हजार भन्दा बढि छ । तर सरकार सिलिन्डर अभाव भएको भन्दै विभिन्न देशहरुबाट आयात गरिरहेको छ । भएकै सिलिन्डरहरु भने सरकारी पहुँच, राजनीतिक शक्ति केन्द्रका र सामाजिक संघसंस्थाका नाममा होल्ड गरिएको छ ।

ती मध्ये धेरै संख्याका सिलिन्डर राजनितिक स्वार्थका लागि नेताहरुले आवश्यक नै नभएका आफ्ना निर्वाचन क्षेत्रतीर ओसारेका छन् । कतिपय घरहरुमै र अस्पतालहरुमा समेत होल्ड भएको अवस्था छ । उत्पादहरुका अनुसार पछिल्लो आफूले भरेर पठाएको सबै सिलिन्डर समेत फिर्ता नहुने समस्या देखिएको छ ।

हुन त अक्सिजन अभाव समस्या न्यूनिकरणका लागि सरकारले सक्दो प्रयास गरिरहेको छ । यहि बीचमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले अक्सिजन संकट कसरी व्यवस्थापन गर्ने भनेर
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग छलफल गरेका छन् । तर सरकारले आफैसंग पर्याप्त भएका सिलिन्डर कहाँ कसरी प्रयोग भइरहेको छ र त्यसलाई एकद्धार प्रणाली मार्फत प्रभावकारी ढङ्गले कसरी वितरण गर्ने भन्नेतर्फ सोच्न सकेको छैन । बरु संकट चुलिएका बेला कोटा छुट्याएपछि सर्वसाधरणमा त्रास पैदा भएको र आवश्यक नभएपनि अग्रिम सिलिन्डर होल्ड गर्ने प्रवृत्ति बढिरहेको छ । यसप्रति सरकार बेलैमा सचेत हुनु जरुरी छ ।