समाचार

चीनले दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाका तर्फ आउँदै


काठमाडौँ – चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री खासाबाबाट तातोपानी नाका तर्फ आउदैछ । चीन सरकारले दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आउन लागेको हो ।

सीसीएमसीका अनुसार स्वास्थ्य सामग्री तातोपानी नाका आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँ पठाइने छ । कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ । केही थान सिलिण्डरहरु नेपाल एयरलाइन्सको वाइडबडी जहाजले बेइजिङबाट ओसारेको छ । पहिलो खेपमा चार सय थान अक्सिजन सिलिण्डर ल्याएको जहाज दोस्रो खेप लिन गएराति फेरि बेइजिङ गएको छ । एकैपटक धेरै सामग्री छिटो ल्याउन सकियोस् भनेर स्थलमार्ग प्रयोग गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले जनाएको छ ।

यस्तै ओमानको मस्कटबाट ५ सय ६० वटा अक्सिजन काठमाडौँ आइपुगेको छ। गैरआवासीय नेपाली संघको सहयोग गरेका अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौं ल्याएको हो। नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिन्डर ल्याएको जनाएको छ। अक्सिजन सिलिन्डर लिन निगमको जहाज शनिबार बिहान मस्कट उडेको थियो।