कोरोना विशेष

कोरोनाका विरामीलाई अस्पतालले मृत्युपत्रमा हस्ताक्षर गराउँदै, ज्यान गए अस्पतालले जिम्मेवारी नलिने (भिडियोसहित)


काठमाडौँ – अक्सिजन अभावका कारण कोरोना संक्रमितले अकालमै मृत्युवरण गर्न बाध्य बनिरहँदा सरकाले भने अझै जिम्मेबारीबाट पन्छिदै आएको छ । केहि हप्ता अघि सम्म नेपालमा अक्सिजनको अभाव नहुने भन्दै कानमा तेल हालेर बसेको सरकार अहिले भने निजि अस्पताल आफैले यसको व्यवस्था गर्नुपर्ने बताउन थालेको छ ।

भक्तपुर अस्पतालले संक्रमितका आफन्तसँग गरेको अति संवेदनशील मञ्जुरीनामा । अर्थात उपचारमा अत्यावश्यक मानिएको अक्सिजन अभावमा संक्रमितको मृत्यु भएमा अस्पताल जिम्मेबार नहुने भनेर गरिएको मृत्युको कबुलियतनामा । यो त एउटा उदाहरण मात्र हो ।

अक्सिजन अभावका कारण मृत्युवरण गर्ने कोरोना संक्रमितको संख्या पछिल्ला दिन बढ्दै गैरहेको छ । अवस्था कति विकराल बन्दै गएको छ भने अक्सिजन अभावमा रुपन्देहीमा मंगलबार राति र बुधबार गरी १४ जनाको मृत्यु भयो । यहि हप्ताका दुईदिनमा कैलालीको टिकापुर अस्पतालमा १२ जनाको ज्यान गएको छ ।

मंगलबार राती नै पर्सामा अक्सिजन अभावकै कारण ३ जनाको ज्यान गयो । हालत संघीय राजधानी काठमाडौँको पनि उस्तै छ । यतिवेला उपत्यका अधिंकाश अस्पतालहरुले अक्सिजन अभावमा नयाँ संक्रमित भर्ना गर्न नसकिने भनेर हात उठाईसकेका छन । कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हस्तक्षेपले अस्पतालमा अक्सिजन आपूर्ति झन् जटिल बनाएको छ । अस्पतालहरुले मागको ५० प्रतिशत अक्सिजन पनि प्राप्त गर्न सकेका छैनन । फलत अस्पतालले संक्रमितलाई भर्ना लिन छाडेका छन् भने केहीले उपचाररत बिरामी पनि डिस्चार्ज गर्न थालेका छन् । तर स्वास्थ्य मन्त्रालय भने निजि तथा सामुदायिक अस्पतालहरु स्वयंमले १५ दिनभित्र प्लान्ट जडान गनुपर्ने बताउदै आएको छ ।

अहिले उपत्यकामा दैनिक ८ हजार ५ सय सिलिन्डिर अक्सिजन उत्पादन भइरहेको छ, जबकि माग भने १२ हजार सिलिन्डर छ । यसका लागि उपत्यका बाहिर भर्न पठाउँदा सिलिन्डर होल्ड भएर पनि समस्या भएको स्वास्थ्य मन्त्रालय बताउछ । प्रहरीले विभिन्न स्थानबाट भेला पारेर यो समस्या केहि हल गर्ने प्रयास गरेपनि राजनितिक पहँुच र संघसंस्थाका नाममा सिलिन्डर होल्ड भईरहेको अक्सिजन उत्पादकहरुको भनाई छ । जसको एकमात्र समाधान सिलिन्डर आयात नै हो। तर त्यसका लागि प्रधानमन्त्री वा मन्त्रीस्तरबाटै हस्तक्षेप हुनुपर्ने जानकारहरु बताउँछन् ।

अहिले निर्माणका क्षेत्रमा प्रयोग भइरहेका सिलिन्डरहरु संकलनको काम भईरहेको भएपनि त्यतिमात्र प्रर्याप्त छैन । अर्कातर्फ विश्वनै महामारीले आक्रान्त बनेको यो अवस्थामा निजि अस्पतालाई आफै प्लान्ट जडान गर् भनेर सरकार उम्किने अवस्था पनि छैन । यसर्थ जीवनमरण यो अवस्थामा सरकार आफैले छिट्टै र प्रभावकारी कदम चाल्न आवश्यक छ ।