समाचार

रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानिने


काठमाडौँ – यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रा प्रतिकात्मक रूपमा रथ तानेर रातो सम्पन्‍न गर्ने निर्णय गरिएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रा सम्बन्धमा बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्‍नेतको अध्यक्षतामा बसेको बैठकले रथयात्राको चौथो दिन जेठ १ गते प्रतिकात्मक रूपमा तानी रातो मच्छिन्द्रनाथकोे रथयात्रा सम्पन्‍न गर्ने र रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती पुर्‍याउने निर्णय गरेको हो ।

त्यस्तै जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञाको मर्म विपरीत नहुने गरी तथा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको जनस्वास्थ्य मापदण्डहरुको अनिवार्य रूपमा पालना हुने र सुरक्षा घेराभित्र रथ रहने गरी अनुशासित रूपमा सम्पन्‍न गर्ने सम्बन्धमा सबै सुरक्षा निकायहरूले समन्वयात्मक कार्य गर्ने निर्णय गरेको छ।