कोरोना विशेष

निषेधाज्ञाकाबीच बिहे भोज गरेको आरोपमा दुई बेहुला पक्राउ


काठमाडौँ – निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट बनेको पर्वतको जलजला–२ माझफाँटमा बिहेको भोजको आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिकाका २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार रहेका छन् ।

मंगलबार बिहे गरेका उनीहरुले बुधबार एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०–४० गाउँले भेला भएको प्रहरीले जनाएको छ ।

प्रहरी पुगेपछि भोजमा सहभागी भागाभाग भएका थिए । स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।