समाचार

काठमाडौं उपत्यकाभित्र १५ दिन निषेधाज्ञा थपियो


काठमाडौँ – काठमाडौं उपत्यकाभित्र थप १५ दिने निषेधाज्ञा गर्ने निर्णय भएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।

अत्यावश्यक सेवा पनि सीमित कर्मचारीबाटै प्रवाह गर्न निर्देशन दिइएको छ । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका परेमा आयोजनाबाहेकका सबै निर्माण कार्यमा पनि रोक लगाइएको छ ।

त्यस्तै होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ । घरमा भने १० जनासम्म भेला हुने गरी यस्ता कार्य गर्न दिइने निमित्त प्रजिअ बस्नेतले जनाए ।

दैनिक उपभोग्य बस्तुको किनमेलको समय बिहान ९ बजेसम्म तोकिएकोमा त्यसलाई बढाएर १० बजे पुर्‍याइएको छ । त्यस्तै कालीमाटीलगायतका तरकारी तथा फलपलू बिक्री बेन्द्रबाट खुद्रा बिक्रीमा रोक लगाइएको छ । ती बजारबाट थोक बिक्री मात्रै गर्न पनि आदेश जारी गरिएको छ ।

यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा संक्रमित भेटिँदै आएका छन् ।