कोरोना विशेष

सरकारको अभाव खड्कियो, यी हुन विरामी नलिने अस्पताल (भिडियोसहित)


काठमाडौैँ –काठमाडौँका करिब दर्जन अस्पतालले संक्रमितको उपचार गर्न नसकिने भन्दै हात उठाएका छन् । देशकै ठुला भनिएका अस्पतालले अक्सिजन लगायतका सामाग्र्री अभाव देखाएर उपचारबाट पन्छिएका छन् । जसले अब उपचार कसरी गर्ने भन्ने संशय उब्जीएको छ ।

काठमाडौँ को जोरपाटीमा रहेको नेपाल मेडिकल कजेलमा भर्ना गरिएका २२ जना कोरोना संक्रमित विरामी मंगलबार निको नहुँदै जबरजस्ती निकालिए । अस्पतालले अक्सिजन सकिएर उपचार गर्न नसक्ने भनेपछि संक्रमितहरु बन्दोबस्ती गर्दै अन्तै जान विवश भए । किनकि मंगलबार नै अस्पतालले उपचार गर्न अक्सिजन अभाव देखाउँदै सुचना जारी गरेको थियो । उस्तै खाले सुचना जारी गर्दै महंगो अस्पतालको रुपमा कहलिएको भैसेंपाटीको मेडिसिटी अस्पतालले समेत संक्रमितको उपचार गर्न नसकिने जनाएको छ । देशकै ठुला कहलिएका यी अस्पताल जस्तै ग्राण्डी इन्टरनेशनल अस्पताललेसमेत उपचार नगर्ने सुचना सार्वजनिक गरेको छ । संक्रमितको संख्या र मृत्युदर कोरोना देखिएका देशहरु मध्येकै अत्यधिक गतिमा चलिरहेका बेला अस्पतालहरुले हात उठाएका हुन् । यसरी हात उठाउनेहरुमा ओम हस्पीटल, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायुलगायतका अस्पतालले पनि अब भर्ना गर्न नसक्ने घोषणा गरेका छन् । अस्पतालहरुको यो लाचारपनसंगै यसले अब जनता उपचार गर्न जाने कहाँ भनेर गम्भिर प्रश्न खडा गरेको छ ।

कोरोना संक्रमितको उपचारमा सक्रिय रहेको टेकु अस्पतालमा अहिले बेडहरु भरिएर अस्पतालको प्राङगणमा संक्रमितहरु जीवनमरणको भिख मागिरहेका छन् । वीर, टिचिङको अवस्था उस्तै छ । अक्सिजन खोज्दा खोज्दै ज्यान गुमाउनेको संख्या बढीरहेका बेला सबै अस्पतालले अक्सिजन नपाएको गुनासो गर्दै विरामी फर्काउन थालेका छन् । उनीहरुले सरकारले अक्सिजन उपलब्ध गराउन सके उपचार सहज हुने बताउँछन् ।अहिले देशभर ६ सय भेन्टिभर मात्रै छन् । जबकि १० हजार भेन्टिलेटर आवश्यक छ ।खुद स्वास्थ्यमन्त्री नै अहिलेको कदम पर्याप्त नभएको भन्दै थप कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउँछन् । तर त्यो थप कहिले चाल्ने हो अत्तोपत्तो छैन ।

नेपालले अरू देशबाट तत्काल अक्सिजन र सिलिन्डर ल्याउनुपर्ने आवश्यकता त छँदै छ, देशभित्रैको अक्सिजनको वितरण प्रणाली प्रभावकारी बनाउन एउटा डेटा सिस्टम र स्वतन्त्र विज्ञको समूह बनाएर उत्पादन, माग र वितरणलाई सकेजति न्यायोचित बनाउन जरुरी छ ।कोरोनाको यो लहर र अब आउने अर्को लहरलाई समेत ध्यानमा राखी धेरैलाई मर्नबाट बचाउन स्वास्थ्यकर्मी, सामग्री र संरचना थप्नुका साथै संक्रमण रोक्न समुदाय स्तरमा सतर्कता र सावधानीका उपायहरू प्रभावकारी रूपले लागू गर्नुपर्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि सरकार कामचलाउ भएको छ । यस्तो बेलामा कामचलाउ सरकारको जवाफदेहीता र उत्तरदायित्व धेरै मानिदैन । जसको फाईदा अस्पतालहरुले उठाउँदै उपचार नै नगर्नेसम्मको लापरबाही गर्न थालेका छन् । यस्तो बेला राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति गर्न सक्ने जिम्मेवार सरकारको अभाव खड्कीएको छ । फलस्वरुप अब जनस्वास्थ्यविद्हरुले भने जस्तै आगामी केही हप्ता नेपालको अवस्था विकराल बन्ने देखिन्छ ।