राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन माधवले हात मिलाए

दलहरुले वैकल्पिक सरकार नदिए संविधानको धारा ७६ (३) अन्तर्गत ओली पुनः अल्पमतको प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)मा एकमत नभएपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउने प्रयास कठिन बन्दै गएको छ । नयाँ सरकार निर्माणका लागि दलहरुको बहुमत नपुगेसंगै आगामी सरकार निर्माणका लागि चूनातै थपिएको छ । एमालेभित्र अलगधारमा रहेको माधव पक्षले देउवालाई साथ देला त ?

संसद्मा विश्वासको मत गुमाएर प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने सही स्थानमा नेपालको राजनीति उभिएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादर देउवालाई बहुमत पु¥याउनै सकस परेको छ । एमालेबाहेकको वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष मिल्दा पनि सरकार बन्ने अवस्था नरहेपछि देउवा पिल्सिएका छन् । जसपाकै महन्थ ठाकुर पक्षले देउवालाई साथ दिएको भए सहजै नयाँ सरकार बन्न सक्थ्यो । तर प्रधानमन्त्रीलाई पनि विश्वासको मत नदिएको यो पक्ष देउवा नेतृत्वको गठबन्धनमा पनि सामेल नुहुने स्पष्ट पारेको छ । फलस्वरुप देउवालाई सरकार बनाउने कसरत फलामको चिउरा चपाए जस्तो भइरहेको छ ।

जसपाको महन्थ ठाकुर पक्षलाई साथमा लिने कसरत असफल जस्तै बनेका बेला एमालेको असन्तुष्ट माधव नेपाल पक्षसंग खेलेर बहुमत जुटाउने कोशिस देउवाको छ । माधव नेपालसंगको पछिल्लो भेटमा देउवाले सरकार बनाउन सहयोग गरे उपनिर्वाचनमा साथ दिने प्रस्ताव अघि सारेका छन् ।सांसद पदबाट राजीनामा दिएर आफ्नो गठबन्धनलाई सघाए उपनिर्वाचनमा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्ष मिलेर माधव पक्षकासबैलाई जिताउने देउवाको प्रस्ताव छ । जसकै कारण पार्टी एकताकै लाईनमा रहेको बताउने माधव पक्षले ओली नसच्चिए देउवाकै प्रस्तावमा अघि बढ्ने संकेत गरेको छ ।

प्रधानमन्त्री ओलीले संसद्मा विश्वास गुमाएपछि संविधानको धारा ७६ (२) अनुसारदुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतको सरकारका लागि१३६ सांसदको हस्ताक्षर सहित दाबी प्रस्तुत गर्न राष्ट्रपतिले दिएको समय सीमा विहिबार सकिदैछ । तर दलहरुको बहुमत पु¥याउने कोशिसले सार्थकता पाएको छैन । यस्तै अवस्था रहे सरकार गठनको प्रयास विफल भएको नजिरसहित देश निर्वाचनमा जाने कतिपयको विश्लेषण छ ।

देउवा नेतृत्वको गठबन्धनमा बहुमत पु¥याउनै कठिन परेपछि जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सहमतिका साथ चुनावी सरकार बनाउने प्रस्ताव अघि सारेका छन् । जसमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाको सहमति हुने देखिदैन । यसर्थ दलहरुले वैकल्पिक सरकार नदिए संविधानको धारा ७६ (३) अन्तर्गत ओली पुनः अल्पमतको प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । तर निर्णायक मानिएको माधव पक्ष कसरी चल्छ त्यसले नै नयाँ सरकार गठनको भविष्य निर्धारण गर्नेछ ।