कोरोना विशेष

काम विहीन सीसीएमसी लाज छोप्न ओली सरकारको मरिहत्ते


कोठमाडौँ – बढ्दो कोराना संक्रमण र स्रोतको सिमितताका कारण अहिले देशकै स्वास्थ्य व्यवस्थामा गम्भीर चुनौती थपिएको छ । परिणामत आन्तरिक प्रयासमा मात्र महामारी थेग्न नसक्ने अवस्थामा पुगेको नेपालका लागि अहिले अन्तराष्ट्रिय सहयोग आवश्यक छ । तर सरकार भने कुहिरोमा हराएको काग जस्तै बनेको छ ।
आफ्नो बलबुताले कोरोना महामारी रोक्न सकिन्न भन्ने थाहा पाइसक्दा समेत सरकारमा रहेका प्रधानमन्त्रीदेखि सिसिएमसीका पदाधिकारीहरु गजक्क फुलेर बस्न छाडेका छैनन् । बरु दैनिक सयौँको मृत्यु, अक्सीजनसहित उपचार नपाएर हजारौँ विरामी देशभर छटपटाउँदासमेत आपत महसुष नगरेर यी निकम्मा व्यक्तिहरु रमिते बनिरहेका छन् । यस्तो संकटको बेला आफ्नो श्रोत साधनले नभ्याउने जान्दाजान्दै जनता मरे मरुन तर विदेशीसंग हात नफैलाउने सरकारको बदनियतका कारण देश झन् झन् जर्जर अवस्थामा फसेको छ । यस्तो बेला विदेशी शक्ति राष्ट्रहरुसंग सहयोग र सहायतको सुचना जारी गर्नु पर्ने हो । दातृ निकायहरुलाई गुहार माग्नु पर्ने हो । र पनि उदांगो भइसकेको लाज छोप्न ओली सरकार एक प्रकारले मरिहत्ते गरिरहेको छ । अरु केही गर्न नसकेपनि ती शक्ति राष्ट्रहरुमा रहेका हाम्रा कुटनितिक संयन्त्रहरु परिचालन गर्नु पर्ने हो । ती संयन्त्रहरु मस्त निन्द्रामा देखिन्छन् भने सरकारले समेत ती निकायहरुलाई झक्झक्याउन सकेको छैन । महामारीको यो अवस्थामा विकसित राष्ट्रहरुसंग सहयोगको अपिल गर्न सक्ने स्थिती रहँदा रहदै पनि यसतर्फ हाम्रा कुटनीतिक संयन्त्रले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन ।

कोरोनाविरुद्धको लडाइँमा अत्यावश्यकीय स्वास्थ्य उपकरण र सामग्रीहरूको संकट चुलिँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ४१ प्रकारका सामग्री सहयोग गरिदिन अपिल गरिसकेको छ । जसमा अक्सिजन, भेन्टिलेटर,पल्स अक्सोमिटर, हाई फ्लो नेजल क्यानुला,पिसिआर किट,सर्जिकल मास्क,टेन्ट लगायतका सामग्री छन । यहि अनुसार संक्रमणको दर बढ्दै जाँदा हाल मौजुदा पीसीआर किटले दुई साताभन्दा धेरै धान्न नसक्ने आकलन गरिएको छ । विश्वभर नै बढ्दो संक्रमणका कारण आपूर्तीमा समस्या देखिएका यी सामग्री आउने भनेको बैदेशिक सहयोगबाटै हो । तर सरकारी संयन्त्रले यसका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । हाल आयात भइरहेको ४÷५ सय सिलिण्ड अक्सीजनले यो विकराल अवस्था धान्ने अवस्था छँदैछैन । र पनि ओली सरकार, सिसिएमसी र स्वास्थ्य मन्त्रालयको आडम्बरी फुर्ति महाआश्चर्यजनक देखिन्छ ।

अहिले नेपाल कोरोना संक्रमण र मृत्युदरका हिसाबले सार्क राष्ट्रमै दोश्रो नम्बरमा छ । विज्ञहरु यो अवस्था आगामी तीन हप्ता अझ विकराल बन्ने प्रक्षेपण गरिरहेका छन । हालको अवस्थामै हालयकालयल भईसकेको नेपालका लागि त्यो अवस्था ब्ल्याक होलमा प्रवेश गरे जत्तिकै हो । फलत वैदेशिक सहयोग अझ महत्वपूर्ण बन्दै गएको छ । तर नेपाल भने मोहि माग्ने ढुङ्ग्रो लुकाउने काम गरिरहेको छ । कतै ओली सरकार आफ्नो सत्ता त गुम्दैछ जनता मरे मरुन को नीतिमा त छैन ? भन्ने प्रश्न गम्भीर बनेर आएको छ । हैन भने विदेशमा रहेका आफ्नो कुटनीतिक संयन्त्रलाई चलायमान बनाओस र जनताको जीवन रक्षा गरोस् ।