राजनीति

कांग्रेसलाई सरकार बनाउन माधवको साथ, भोलीसम्म राजीनामा दिने माधव पक्षको तयारी

ओलीसंगको वार्ता असफल


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिदै जाँदा सत्तारुढ एमालेभित्रको दौडधुप उत्कर्षमा छ । आफैले कारबाही गरेका नेताहरु संकटमा काम आएपछि प्रधानमन्त्री ओली सकभर माधव पक्षलाई मनाउने कसरतमा छन् । तर यो सम्भावना न्यून बन्दै गएको छ ।

‘आकाशतिर फर्केर थुक्दा आफ्नै टाउकोमा पर्छ’भन्ने उखान यतिवेला नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग मेल खान्छ ।आफैले कारबाही गरेका नेताहरु नै अहिले आफ्नै सरकार ढाल्ने र बचाउने उपचारमा अचुक दबाई बन्नेभएपछि प्रधानमन्त्री ओली निल्नु न ओकल्नुको अवस्थामा छन् ।

विश्वासको मत लिने दिन नजिकिसक्दासम्म प्रधानमन्त्री ओलीको अंकगणितमा आफ्नै पार्टीको माधव नेपाल पक्षले साथ नदिने अवस्था छ ।तर ओली हरसम्भव मिलाउने कोशिसमा छन् । यसकै लागि उनले राष्ट्रपति विद्यादेवी भण्डारीको उपयोग गरेपनि ओलीको यो उपाय फेल खाइसकेको छ । विपक्षीको गठबन्धनमा मिसिइसकेका नेपाल पक्षलाइ संङल्याउन ओलीलाई कठिन पर्दै गएको छ । दुबै पक्षका नेताहरु आ–आफ्नो बटमलाइनमा दृढ देखिएकाले एमाले नेताहरुको सम्वाद घनिभूत भएपनि दुरी घट्न सकेको छैन ।

सोमबार प्रधानमन्त्रीले विश्वासको मत माग्ने दिन भएकाले सकभर सिङगो एमालेसहित प्रतिनिधिसभामा उपस्थिति हुने ओलीको दाउ छ । शनिबार पनि ओली पक्ष र माधव पक्षका दोस्रो वरियताका नेताहरुबीच वालुवाटारमा दिनभर छलफल चलेको छ ।

वार्तामा सहभागी नेताहरुका अनुसार पार्टी एकता जोगाउनुपर्छ भन्नेमा दुवै पक्ष सहमत छ । तर माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन गरेको मागप्रति ओली सहमत छैनन् ।जसकै बदला स्वरुप माधवपक्षका ३५ प्रतिनिधिसभा र ७राष्ट्रियसभाका सदस्य गरी ४२ सांसदले सामुहिक राजीनामा दिने तयारी गरेका छन् । जसकै कारण आइतबारसम्म एमालेको एकता र विभाजन टुङगीने कतिपयको बुझाई छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलेसमेत शनिबार नै विपक्षीहरुको सहयोगमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेको छ । कांग्रेसले एमालेको माधव नेपाल पक्षकै सहयोग पाउने सुनिश्चित भएपछि वैकल्पिक सरकार निर्माणमा अघि बढ्ने तयारी गरेको हो ।यसर्थ, शीर्ष नेताको संबादहिनताकै बीच दोस्रो तहका नेताहरुले वालुवाटारको वालुवाबाट जतिसुकै तेल निकाल्ने कोशिस गरे पनि अब पनि एमाले एकभएर जाने अवस्था अत्यन्तै कम छ । किनकि जेठ ६ गते हुने उपचुनावमा माधव पक्षले काँग्रेस र माओवादीको समेत समर्थनमा खिमलाल देवकोटालाई उम्मेदवार बनाइसकेको छ । उता, ओली पक्षले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ ।

दुई पक्षबीच एकता हुने हो भने या त देवकोटाले धोका पछी सार्नुपर्छ या त बादललाई । जुन अब असम्भव जस्तै देखिन्छ । तर प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षको साथ नपाए पुनः प्रतिनिधिसभा विघटन वा संसद्को अधिवेशन नै पर धकेल्न सक्ने आशंका विपक्षीमा बढ्दै गएको छ ।