कोरोना विशेष

अस्पतालमा छैन संक्रमितलाई वेड, सरकारको तयारी शून्य

सरोकारवाला भने वेड व्यवस्थापन र अक्सिजन अभाव हुन नदिन काम गरिरहेको दाबी गर्न छाड्दैनन् ।


काठमाडौँ – नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै अस्पतालहरुमा संक्रमितले बेड नै पाउन छाडेका छन् । बेड अभावमा उचित उपचार नपाउदा संक्रमितले अकालमै ज्यान गुमाउनुपरेको छ । दिनप्रतिदिनको बढ्दो संक्रमणका कारण अस्पतालमा संक्रमितको भीड लाग्ने गरेको छ ।

समयमै उपचार नपाएकै कारण ज्यान गुमाएका संक्रमितमध्ये एक हुन् बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापामगर । ४४ वर्षीय थापा ७ दिनअघि कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेका थिए । तर एक्कासी स्वास्थ्यमा थप समस्या आएपछि उनलाई अस्पतालमा त पुर्याईयो । तर अस्पतालमा उपचारका लागि बेड खोज्दा खोज्दै उनले प्राण त्याग्नुप¥यो । हालत संघीय राजधानीका अस्पतालको पनि उस्तै छ । बढ्दो संक्रमितका कारण अस्पतालहरु भरिन थालेपछि उपचारमा समस्या हुन थालेको छ । देशकै प्रतिष्ठित भनिएको काठमाडौको टिचीङ अस्पतालमा कोभिड संक्रमितको चाप बढेसँगै संक्रमितको उपचारमा कठिनाई देखिएको छ । संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितहरुको चाप थेगिनसक्नु अवस्थामा पुगेको छ । यतिसम्म कि अस्पतालमा बेड अभावका कारण विरामीलाई ल्याएकै सवारीमा अक्सिजन सर्पोट दिएर उपचार गराउन थालिएको छ।

पछिल्लो समय बढ्दो संक्रमणका कारण बेड नपाएरै ज्यान गुमाउँनु पर्ने घटनाहरु बढिरहेका छन् । कतिपय संक्रमित एम्बुलेन्स अक्सिजन लिँदै वेडको प्रतिक्षामा रहेका छन् । बाकेमा दिनभर खोज्दा पनि वेड नपाएपछि एक संक्रमितले अस्पतालको प्राङ्गणमै ज्यान गुमाए । यस्ता घटना दिनहुँ बढिरहँदा अक्सिजन अभाव पनि समस्याका रुपमा देखिन थालेको छ । भक्तपुरमा अक्सिजन अभावमै दुई संक्रमितको ज्यान गयो । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना संक्रमितको एकैसाथ दुई कोरोना संक्रमितको मृत्यु भएको हो । तर सरोकारवाला भने वेड व्यवस्थापन र अक्सिजन अभाव हुन नदिन काम गरिरहेको दाबी गर्न छाड्दैनन् ।
अझ सरकारको कुरा सुन्ने हो भने त जनरल वेड मात्र हैन आईसियु र भेन्टिलेर पनि पर्याप्त छन् । धमाधम आईसोलेसन र अस्थायी अस्पताल निर्माणको क्रममा छन् अनि अक्सिजनको त समस्या छदैँछैन । तर बास्तविकता अलग छ ।