समाचार

दुई दिनभित्र अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन


काठमाडौँ – सरकार बल्ल अक्सिजन व्यवस्थापनमा जुटेको छ । अक्सिजनको अभावकै कारण कोरोना संक्रमितहरुले ज्यान गुमाइरहेका बेला सरकार बल्ल यसको व्यवस्थापनका लागि जुटेको हो। दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको र अक्सिजन अभावका कारण मृतकको संख्या पनि बढेकाले सरकारलेअस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारणको काम थालेको हो ।

अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारण गर्ने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने छ । यसका लागि सरकारले स्वास्थ्य मन्त्रालयलाई दुईदिनको समय दिएको छ ।

अस्पतालहरुको विद्यमान क्षमता, विरामीको संख्या, आवश्यक उपचारको प्रकृति, आईसीयू शैया र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाएर अस्पतालहरुलाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योग र अस्पतालबीच सम्बन्ध स्थापित गर्ने, आवश्यकता अनुसार अस्पतालहरुलाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइएको छ ।

सरकारले जारी गरेको कार्ययोजना अनुसार अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट आवश्यक मर्मतसम्भार गरी वैशाख २४ गतेभित्र सन्चालनमा ल्याउन सम्बन्धित अस्पताललाई नै जिम्मेवारी दिइएको छ । यो काममा स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयलाई सहयोगीको रुपमा रहने छन् ।