राजनीति

राजदूत दाहाललाई अष्ट्रेलियाबाट फिर्ता बोलाउने सरकारको निर्णय


काठमाडौँ – सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको निकटबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्य समेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आबद्ध थिए ।

२०७४ सालको चुनावमा प्रचण्डलाई सहयोग गरेपछि उनी माओवादी प्रवेश गरेका थिए । फिर्ता बोलाउने निर्णयसँगै दाहालले राजदूत भएबापत पाउने सेवा सुविधा रोकिएको छ । सरकारले प्रचण्ड निकट लीलामणी पोखरेललाई चीनको राजदूतबाट पनि फिर्ता बोलाएको थियो ।