समाज

घरायसी विवादका कारण देवरसँग मिलेर पतिको हत्या गर्ने पत्नीसहित ४ जना पक्राउ



काठमाडौँ – घरायसी विवादका कारण धनुषामा देवरसँग मिलेर पतिको हत्या गरेर फरार भएकी पत्नीसहित ४ जना पक्राउ परेका छन् ।

घरायसी विवादका कारण दुई दाजुभाइ र श्रीमती मिलेर जिल्लाको हंसपुर नगरपालिका–६ टिल्ही बस्ने बद्री मण्डलका २५ वर्षीय छोरा शम्भु मण्डललाई गत शुक्रबार राति घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका थिए ।

मण्डलको हत्यापछि फरार भएकी उनकी पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डलसहित ४ जनालाई उदयपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले जानकारी दिएको छ ।

देवर र भाउजूलाई घरबाट भगाउन सहयोग गरेका अन्य २ जनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत शुक्रबार मध्यराति करिब २ः३० बजेको समयमा घरायसी विवादका कारण मण्डललाई उनका भाइ र पत्नीले घाँटीसहित शरीरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेर फरार भएका थिए ।