राजनीति

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने


काठमाडौँ – लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र शपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।
माओवादी केन्द्र, कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका छन् । विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउंदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन् । ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनले बताएको छ । कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले पोखरेल नेतृत्वको सरकारलाई धेरै दिन टिक्न नदिने चेतावनीसमेत दिनुभयो । मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग र महिला हिंसा गरेको दाबी गर्दै उहाँले निलम्वन गर्न माग गर्नुभएको छ । डीआईजी धानुक आफैं संलग्न भएर महिलालाई हातपात र दुव्र्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षी दलहरूको माग रहेको छ ।