राजनीति

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदै

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव आज प्रस्तुत हुने


काठमाडौँ – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजको बैठकमा पेश हुने छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । प्रस्तावमा सांसदहरूले दलीय आधारमा धारणा राख्नेछन् । त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जवाफ दिने तय गरिएको छ । मुख्यमन्त्रीले जवाफ दिएपछि सोमबार नै मतदान हुने कार्यसूची तय गरिएको छ । बैशाख ६ गते कांग्रेस, माओवादी र जसपाका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेका मध्ये जसपाका चार सांसद मन्त्री बनेपछि चारै जना पदमुक्त भएका छन् । यसअघि ८७ सदस्य रहेको प्रदेशसभामा अब ८१ सांसद भएका छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्छ । सत्तारुढ एमालेसँग ४१ सांसद रहेका छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन । मुख्यमन्त्रीको पद के हुने भन्ने एमालेको खनाल–नेपाल पक्षमा भर पर्नेछ । खनाल–नेपाल पक्षले फ्लोर क्रस नगरे मुख्यमन्त्री पोखरेल सुरक्षित रहनुहुनेछ ।