खेलकुद

पोलार्ड चम्किदा मुम्बईको रोमान्चक जित


काठमाडौँ – भारतमा जारी ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । प्रतिष्पर्धात्मक खेलमा मुम्बईले शीर्ष स्थानको चेन्नाई सुपर किंग्सलाई चार विकेटले पराजित गरेको हो ।
शनिबार राति दिल्लीको फिरोसा कोट्लामा भएको रोमान्चक खेलमा चेन्नईले दिएको २१९ रनको विशाल लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । काएरन पोलार्डको विष्फोटक ब्याटिङको मद्दतमा मुम्बई विजयी भएको हो । पोलार्डले ३४ बलमा अविजित ८७ रन बनाएको थियो । उनले ६ चौका र ८ छक्का प्रहार गरेका थिए । त्यस्तै क्‍विन्टन डिककले ३८, रोहित शर्माले ३५ र क्रुणाल पान्ड्याले ३२ रन बनाए । चेन्‍नईका साम करानले ३ तथा शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोईन अलीले १/१ विकेट लिए ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको चेन्नाईका लागि अम्बाती रायुडुले आक्रमक पारी खेल्दै २७ बलको सामना गर्दा ४ चौका र ७ छक्का प्रहार गरी अविजित रहँदै ७२ रन बनाए । मोइन अलीले ५८ रन जोड्दा ओपनर फाफ डुप्लेसीले ५० रन बनाए । मुम्बईका कायरन पोलार्डले २ विकेट लिँदा जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले १/१ विकेट हात पारे ।
जितपछि मुम्बई ७ खेलबाट ८ अंक जोड्दै अंक तालिकामा चौथो स्थानमा यथावत् रहेको छ । चेन्नाई ७ खेलबाट १० अंकसहित शीर्ष स्थानमै यथावत् रहेको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरको पनि समान १० अंक भएपनि चेन्नाई रनरेटमा अगाडि रहेको छ ।