राजनीति

देउवाको नजरमा अब नयाँ सरकार बन्दैन, एमसीसी पास गर्न प्रचण्डले साथ दिन्छन्, ओलीसंग किन जंगिए देउवा

जसपाले निर्णय नगर्दासम्म संख्या नपुग्ने भन्दै आफुले प्रधानमन्त्री हुन्छु भन्ने चाहेर नहुने देउवाको भनाइ छ ।


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अकर्मण्यताका कारण देशमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएकोआरोप लगाउनु भएको छ ।देउवाले कोरोना संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको भन्दै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको व्यवस्था गर्न सरकारसंग माग पनि गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार आकस्मिक रुपमा आफ्नै निवासमा पत्रकार सम्मेलन गरे । कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिरहेका बेला सभापति देउवाको पत्रकार सम्मेलन मुलतः कोरोना नियन्त्रणमा सरकारले गरेका कामकारबाहीमा केन्द्रीत थियो ।पत्रकार सम्मेलनको शुरुवातमै देउवाले सरकारकै चरम लापरबाही र अकर्मण्यताका कारण यो परिस्थति आएको निष्कर्ष सुनाए ।

देउवाले पीसीआर परीक्षणर संक्रमितहरुको उपचारका लागि आईसीयू–भेन्टिलेटरसहितका बेडको व्यवस्था गर्न सरकारसँग माग गरे । अरुबेला ओलीसंग लचक देखिने देउवा यसपटक भने ओलीप्रति आक्रमक देखिए । अधुरा कामलाई पनि पुरा भएको देखाउँदै उद्घाटन, भीडभाड र तडकभडकमा ओली मग्न भएकै कारण मुलुकमा फेरि लकडाउन गर्नुपर्नेे अवस्था आएको देउवाको गुनासो छ ।देउवाले कोरोनालाई मध्यनजर गर्दै गाउँगाउँमा सचेतना फैलाउन कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिएका छन् ।

देउवा त्यतिवेला रिसाए जतिवेला पत्रकारले तपाईकै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलले प्रधानमन्त्री ओलीसँग सेटिङ छ भनेर गम्भीर आरोप लगाउनु भयो नी ? भनेर सञ्चारकर्मीले प्रश्न सोधे ।
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावदेखि नयाँ सरकार फेरबदलमा अनिच्छा देखाइरहेको देउवाकै कारण नयाँ सत्ता समिकरणमा समस्या भएको रामचन्द्र पौडेल पक्षको आरोप छ । तर देउवा नयाँ सरकार बनाउन संख्या नै नपुगेको बताउने गरेका छन् । जसपाले निर्णय नगर्दासम्म संख्या नपुग्ने भन्दै आफुले प्रधानमन्त्री हुन्छु भन्ने चाहेर नहुने देउवाको भनाइ छ ।

अविश्वास प्रस्ताव ल्याएर फेल भएमा अर्को एक वर्षसम्म प्रस्ताव ल्याउन नपाइने डर भएकाले संख्या पुगेपछि मात्रै कदम चाल्ने देउवाको भनाइ छ ।कांग्रेस सभापति देउवाले संसद्मा अड्कीएको एमसीसीका विषयमा भ्रम फैलाईएको भन्दै आक्रोश पोखे ।एमसीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग सहमतिभएको हो भन्ने पत्रकारको प्रश्नमा देउवाले कुरा भइरहेको भन्दै प्रचण्डले साथ दिन्छु भनेको बताए ।

एमसीसी पास नभए तपाईँलाई संकट पर्छ हो ? भन्ने प्रश्नमा देउवाले फेरि रिसाए ।अमेरिकाले नेपाललाई सित्तैमा दिएको सहयोग लिनुपर्ने उनको दाबी छ ।पार्टीको महाधिवेशनलाई लिएर संवैधानिक संकट आइपरेकाले भदौमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको देउवाले स्पष्ट पारे ।