गण्डकी प्रदेश

गण्डकीको काण्डले केन्द्रमा खैलाबैला : एमालेको भोटले चुनाव जितेका चित्रबहादुरले किन लत्याए ओलीलाई

गण्डकीको सांसद गायव काण्ड


काठमाडौँ – गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायव प्रकरणले केन्द्रीय राजनीतिमा समेत हलचल पैदा भएको छ । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढाल्न विपक्षी सक्रिय बनेका बेला हराएका सांसद हस्पीटलमा भेटिएपछि सत्तापक्ष र विपक्षीले आ–आफ्नै स्वार्थ अनुकुलको आलोचना र टिप्पणी गरिरहेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई यतिवेला पद जोगाउन हम्मेहम्मे छ ।आफू नेतृत्वको सरकार ढाल्न विपक्षीहरुले अविश्वासको प्रस्ताव टेबल गराएसंगैगुरुङले बुधबार जनमोर्चाका सांसद नै गायव पारिदिए । प्रदेश सभाको औपचारिक जानकारीमा नआएपछि जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको खबरले संसद्मा खैलाबैलानै मच्चियो ।

जनमोर्चाले आफ्ना सांसद हराएको खबर सदनलाई जानकारी दियो । शंकाको तिर घुम्दैफिर्दै मुख्यमन्त्री गुरुङतिर सोझियो ।अविश्वासको प्रस्तावमाथि मतदान हुनै लाग्दा सांसद हराएपछि सरकार बचाउन मुख्यमन्त्रीले अपहरण गरेको र प्रमुख जिल्ला अधिकारीले साथ दिएको भन्दै आक्रोशित जनमोर्चाका सांसदले कास्कीका सिडीओको सात्तो खाए ।

तर सांसद शाही भने बेलुकीपख पोखराको चरक अस्पतालस्थित आईसियू वेडमा भेटिए । मंगलबार प्रदेश सभाले गरेको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएका सांसद शाहीको रिपोर्ट बुधबार एकाएक पोजेटिभ आएर चरक अस्पतालमा भर्ना गरिएको थियो । केही समयपछि मुख्यमन्त्री गुरुङ पनि अस्पतालमै भेटिए । तर जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीले सरकार बचाउन आफ्ना सांसद अपहरण गरेर लुकाएको आरोप मुख्यमन्त्रीमाथि लगाएका छन् ।

सांसद शाहीले भने विहिबार विज्ञप्ती सार्वजनिक गर्दै मतदान गर्न जादै गर्दा विरामी परेको र अस्पताल लैजानेक्रममा बेहोस भएको प्रष्ट पारेका छन् । उनले स्वास्थ्य सुधारउन्मुख रहेको र अविश्वासको प्रस्तावप्रति कटिबद्ध रहेको समेत विज्ञप्तीमा खुलाएका छन् । गण्डकी घटनाले केन्द्रीय राजनीतिमा समेत हलचल मच्चाएको छ । जसलाई नजिकबाट नियालीरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुलै चलखेल भएको भन्दै किनबेचको आरोप लगाएका छन् ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जनमोर्चाको ओतले अविश्वासको प्रस्ताव दर्ता गर्नुअघिसम्म सुरक्षित थियो । तर सत्तारुढ पार्टी एमालेलाई जनमोर्चाले पीँठ फर्काइदिएपछि सरकार ढल्ने अवस्था आएको हो । जसबाटै बच्नका लागि मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीकै चालमा कदम चालिरहेका छन् ।तर जनमोर्चाले साथ छोडेपछि सत्तापक्षमा छुट्टै आक्रोश चुलिएकोछ ।

जनमोर्चाका सांसदको अचानक गायव प्रकरणले अनेक संशय भने उब्जाएको छ । एकतर्फी सरकार बचाउन मुख्यमन्त्रीले अपनाएको हतकण्डाका रुपमा बुझ्छन् भने अर्काेतर्फीजनमोर्चाका सांसद प्रलोभनमा परेर मुख्यमन्त्री बचाउन आफै सक्रिय भएको दाबी गर्छन । सरकार बचाउन र हटाउन निर्णायक मानिएको जनमोर्चाको सांसदको हर्कत पछि गण्डकी प्रदेशमा सरकार फेरबदल लम्बीएको छ । तर अब अविश्वासको प्रस्तावमाथिको मतदानमा उनले कसलाई समर्थन गर्छन, हेर्न भने बाँकी छ ।