राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएको कांग्रेसले जनाएको छ ।


काठमाडौँ – सरकारको प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
गत सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पीसीआर गर्ने भन्दै स्थगित गरिएको थियो । एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएको कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा बैठकमा छलफल हुनेछ । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको कांग्रेस पछिल्लो समय निरन्तर छलफलमा रहेको छ । तर, अविश्वासको प्रस्ताव पारित गर्न आवश्यक संख्या पुगेपछि मात्र अगाडि बढ्ने कांग्रेस नेताहरूले बताएका छन् । जसपाले निर्णय नगरेकोले अविश्वास प्रस्तावमा अगाडि बढ्न नसकेको कांग्रेस नेताहरूले दाबी गरेका छन् । जसपामा भने वर्तमान सरकारको विषयमा मतान्तर देखिएको छ । जसका कारण जसपाले लामो समयसम्म सरकारबारे निर्णय गर्न सकेको छैन ।