राजनीति

माओवादी केन्द्र समर्थन फिर्ता लिन आज पनि असमर्थ


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको आजको बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेन ।
जसपाले सरकारबारे निर्णय नलिएसम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको प्रवक्ता एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै प्रवक्ता श्रेष्ठले जसपाको अन्तिम निर्णय आइनसकेकाले आफूहरुले हतारिएर सरकारको समर्थन फिर्ता लिनु उचित नदेखिएको बताउनुभयो ।

भोली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्ने सुचना गलत भएको उहाँको प्रतिक्रिया छ । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारको विकल्प खोज्न ढिलाई गर्न नहुने निष्कर्ष भने निकालेको छ । राष्ट्रियसभाको उपनिर्वाचनको आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ । नेता श्रेष्ठले नयाँ सरकार बनाउन एमसीसीबारे नेपाली काँग्रेससंग सम्झौता गरिएको भन्ने समाचार समेत झुटो भएको बताउनुभयो । माओवादी केन्द्रको बैठकले कोरोना नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग सरकारसंग गरेको छ ।