राजनीति

ओलीको कदमले एमाले विभाजनको फाइनलमा, कमजोर आँकिए ओलीलाई सकाईदिने माधव पक्षको चुनौती


काठमाडौँ – आन्तरिक कलहले सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेको माधव नेपाल पक्षले आफुलाई कमजोर नआँक्न चेतावनी दिदै आएको छ भने ओली आफ्ना विरोधीलाई घुँडा टेकाउने रणनीतिमा छन् । जसले एमाले एक रहने सम्भावना कम हुदै गएको छ ।
दुई शीर्ष नेतृत्वको संवादपछि विवाद साम्य हुने आश गरिएकै बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षलाई निषेध गर्दै स्थायी कमिटी गठन गरेपछि एमाले विवाद उत्कर्षमा छ । पार्टीभित्र असन्तुष्ट पक्षको कित्तामा रहेका बामदेव गौतमलाई समेट्दै गर्दा माधव पक्षलाई पूर्णतः बाइपास गरेका ओलीले एमाले विभाजनलाई थप मलजल गरेको सहजै बुझ्न सकिन्छ । किनकी कर्णालीमा फ्लोर क्रस गरेर विद्रोह गरेको माधव पक्षले केन्द्रमा पनि सोही कदम दोहोर्याउने संकेत देखाउदै आएको छ । तर असन्तुष्ट पक्षलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने अध्यक्ष ओलीले झनै आक्रामक बन्दै कारबाहीको श्रृखंला चलाउदा माधव पक्ष निरन्तर विकल्पको खोजीमा छ । यो पक्षले आफुलाई कमजोर आँकिए थप संकट निम्तिने चेतावनी दिइरहेको छ ।

अहिलेसम्मको स्थितिमा माधव पक्ष ओलीसँग घुँडा टेक्ने कुनै सम्भावना छैन । देशभर समानान्तर संरचना निर्माण गरिरहेको यो पक्षले उल्टै ओलीलाई सच्चिन चेतावनी दिने गरेको छ । २८ फागुनमा आफ्नो समूहका नेताहरुको बैठक राखेर ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेकका सबै पदाधिकारी हटाएका थिए । स्थायी कमिटी खारेज गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएका थिए । जसलाई सच्याएर २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई फर्काउन माधव पक्षले विद्रोह जारी राखेको छ । तर ओली सच्चिन भन्दा बरु थप कारबाही नै गरेर माधव पक्षलाई तह लगाउन लागिपरेका छन् । पार्टीहित विपरितका समानान्तर गतिविधि नरोके थप कदम चाल्ने ओली पक्षको तयारी छ ।

पार्टीको दुबै पक्ष सच्चिन तयार नुहँदा फुटलाई प्रसय दिएको सहजै अनुमान लगाउन सकिन्छ । अझ कर्णाली प्रदेशबाट शुरु भएको फ्लोर क्रस अन्य प्रदेश हुँदै केन्द्रमा समेत हुने संकेतले एमाले विर्सजनको दिशामा अघि बढेको नकार्न सकिदैन ।