राजनीति

मन्त्रिपरिषद् बैठक : सीसीएमसीको सिफारिस अनुमोदन गर्ने तयारी


काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकमा कोरोना नियन्त्रणका लागि सीसीएमसीको सिफारिस अनुमोदनको तयारी भएको निकट स्रोतले जनाएको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले दोस्रो लहरको कोरोना भइरस तीव्र रुपमा फैलिदै गएपछि मुलुकभर कम्तीमा तीन साताका लागि लकडाउन गर्न सिफारिस गरेको थियो ।
सीसीएमसीले मुलुक लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ । बैठकले पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव छ ।

यस्तै विदेशी नागरिकलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा पनि रोक लगाउन सिफारिस गरिएको छ भने स्वदेश फर्किएका नेपालीलाई परीक्षण रिपोर्टका आधारमा गन्तव्यसम्म पुर्‍याइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था सरकारले मिलाएको छ ।
कोरोना संक्रमणकै कारण चलिरहेका र सुरु हुने क्रममा रहेका सबै परीक्षा स्थगित गर्न सिसिएमसीले सिफारिस गरेको छ । विद्यालय तहका परीक्षा रोकिएका छन् भने त्रिविले परीक्षा जारी राखेको छ ।