कोरोना विशेष

तीन साता लकडाउन गर्न सीसीएमसीको सिफारिस


काठमाडौँ – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।
कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउनको सिफारिस गरेको हो । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकमा अधिकांश सदस्यले कोरोना संक्रमणको दोस्रो लहर तीव्र विस्तार भएकाले तत्काल रोकथाम तथा नियन्त्रणका लागि कडा किसिमको आदेश जारी गर्नुपर्ने सुझाव दिएका थिए । त्यसपछि बैठकले सर्वसम्मत रूपमा लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने निर्णय गरेको हो । बैठकले पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न पनि सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । यस्तै बैठकले चलिरहेका र अब सुरु हुने सबै परीक्षा स्थगित गर्न पनि सिफारिस गरेको छ । यसैगरि हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न पनि बैठकले सिफारिस गरेको छ ।