कोरोना विशेष

कोरोना नियन्त्रणमा स्थानिय सरकारको भूमिका खै ?

विगतमा जति काम स्थानीय तहले गरेपनि दोस्रो लहर नियन्त्रणमा भने उदाशिन देखिएका छन् ।


काठमाडौँ – पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार संक्रमितसँगै ज्यान गुमाउनेको संख्या पनि उकालो लागिरहेको छ । तर यस्तो अवस्थामा पनि स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन सकेको छैन । कोरोना नियन्त्रणको लागि स्थानीय सरकारले चासो नदेखाएको विज्ञ बताउँछन् ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना महामारी अनियन्त्रित भइरहदा नेपालमा पनि दोश्रो लहर तीव्र रुपमा फैलिदै गएको छ । दैनिक दुई हजारभन्दा बढीको दरमा कोरोना संक्रमित थपिन थालेको छन् भने मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा नीति नियम बनाउने प्रमुख दायित्व संघीय सरकारको भए पनि यसको कार्यान्वयन गर्ने अभिभारा भने सम्बन्धित प्रदेश र स्थानीय तहहरूको नै हो । यतिवेला स्थानीय तहहरूको प्रमुख दायित्व भनेकै कोरोनाबाट जनतालाई जोगाउनु हो । संक्रमण परिवार तथा समुदायमा फैलन नदिन हरेक पालिकाले विदेशबाट आएका व्यक्तिहरूको अभिलेख राखी पहिचान र निगरानी गर्नुपर्छ । उनीहरूलाई ‘क्वारेन्टाइन’ मा राख्ने र त्यसको आवश्यक अनुगमन गर्नु स्थानयि तहको दायित्व हो । तर, विगतमा जति काम स्थानीय तहले गरेपनि दोस्रो लहर नियन्त्रणमा भने उदाशिन देखिएका छन् ।

विपदको यो घडीमा जनतालाई केही राहत दिने र कोरोनाको महामारीबाट बचाउने जिम्मा स्थानीय तहको हो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढेपनि नियन्त्रणको कदम चाल्न स्थानीय तह उदासिन देखिएका छन् । कोरोनाको अघिल्लो लहरमा भएका कमीकमजोरी र अनुभवहरुबाट पाठ सिकेर अघि बढ्नुपर्ने भएपनि हालसम्म कोभिड–१९ को व्यवस्थापनको सम्बन्धमा स्थानीय तहले प्रदेश या केन्द्र सरकारसँग पनि कुने समनवयन गर्न सकेका छैनन् । यता विज्ञहरु पनि अहिलेको यस्तो अवस्थामा पनि कोरोना नियन्त्रणमा सरकार सचेत नदेखिएको बताउँछन् ।

यता नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवलशमशेर राणा भने अहिलेको कोरोना भाइरस यसअघिको भन्दा खतरानाक भएकोले स्थानीय तहलेमात्र नियन्त्रण लिन नसकिने बताउँछन् ।

कोरोना भाइरसलाई नियन्त्रण र रोकथाम गर्नको लागि तीन तहका सरकार, राजनीतिक दल, प्रहरी प्रशासनलगायत सक्रिय रूपमा परिचालित हुन जरुरी छ । सबै मिलेर सक्रियतासाथ लागेमात्र महामारी वा विपद्लाई परास्त गर्न सकिन्छ ।