राजनीति

६ वर्षपछि नवनिर्मित धरहराको आज उद्घाटन हुँदै


काठमाडौँ – लामो समयदेखि सबैको प्रतीक्षामा रहेको नवनिर्मित धरहराको उद्घाटन आज हुँदैछ । २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको नयाँ धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लाग्नु भएको हो ।

भूकम्प गएको ६ वर्षपछि धरहराले पुरानै स्वरुपको आकृति पाएको छ । धरहरा पुरानै आकृतिमा फर्किएको छ तर पूर्ण रुपमा सम्पन्न भने भईसकेको छैन । धरहराको बाँकी रहेका अन्य संरचनाहरुको पनि पुनःनिर्माण भई रहेको प्राधिकरणले जनाएको छ । धरहराको फेदमा अझैसम्म थुप्रै संरचना निर्माणका क्रममा रहेको र क्रमशः तिनीहरुको निर्माण हुँदै जाने प्राधिकरणले उल्लेख गरेको हो । प्राधिकरणले बनाइरहेको धरहरा क्षेत्रमा भूमिगत पार्किङ, बगैंचा, संग्रहालय लगायतका अन्य संरचनाको निर्माण भइरहेको छ । धरहराकै स्वरुपमा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाइएको नयाँ धरहरा चढ्नका लागि भने तयार भएको छ । आज प्रधानमन्त्री केपी शर्मा आलीले उद्घाटन मात्रै गर्ने र सर्वसाधारणका लागि निर्माण सकिएपछि मात्रै चढ्न दिइने भएको छ । नयाँ धरहराको निर्माण कार्य २०७५ असोज १४ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट काम सुरु भएको थियो । अहिले बनेको धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । झन्डै ३ अर्ब ४८ करोडको लागतमा पुरानो धरहराको स्वरुपमा नयाँ धरहरा बनाइएको हो ।
०००