राजनीति

प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्नुभएको छ । शनिवार आयोजित धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो ।

भूकम्प गएको ६ वर्षपछि धरहराले पुरानै स्वरुपको आकृति पाएको छ । धरहरा पुरानै आकृतिमा फर्किएको छ तर पूर्ण रुपमा सम्पन्न भने भईसकेको छैन । धरहराको बाँकी रहेका अन्य संरचनाहरुको पनि पुनःनिर्माण भई रहेको प्राधिकरणले जनाएको छ । धरहराको फेदमा अझैसम्म थुप्रै संरचना निर्माणका क्रममा रहेको र क्रमशः तिनीहरुको निर्माण हुँदै जाने प्राधिकरणले उल्लेख गरेको हो । प्राधिकरणले बनाइरहेको धरहरा क्षेत्रमा भूमिगत पार्किङ, बगैंचा, संग्रहालय लगायतका अन्य संरचनाको निर्माण भइरहेको छ । धरहराकै स्वरुपमा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाइएको नयाँ धरहरा चढ्नका लागि भने तयार भएको छ । नयाँ धरहराको निर्माण कार्य २०७५ असोज १४ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट काम सुरु भएको थियो । अहिले बनेको धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । झन्डै ३ अर्ब ४८ करोडको लागतमा पुरानो धरहराको स्वरुपमा नयाँ धरहरा बनाइएको हो ।
भीमसेन थापाले बनाएको ११ तल्ले धरहरा १९९० सालको भूकम्पमा ढलेको थियो । जसको पुनर्निर्माणका क्रममा जुद्ध शमशेरले सोही स्थानमा ९ तल्ले धरहरा बनाएका थिए । नयाँ बनेको धरहरा ऐतिहासिक सम्पदा भएपनि अहिले यसको पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनको रुपमा भएको छ । यहाँ तीनतले पार्किङ स्थलको निर्माण कार्य जारी रहेको छ ।