खेलकुद

नेपाल सुपर लिग आजबाट सुरु


काठमाडौँ – नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा उपत्यकाका दुई टिम काठमाडौँ रेजर्स र ललितपुर सिटी भिड्दैछन् । सो खेल साँझ ५ः३० मा हुँदैछ । काठमाडौँ रेजर्सको मुख्य प्रशिक्षकको रुपमा बाल गोपाल महर्जनको र कप्तानीको रुपमा गोलकिपर विकेश कुथु रहेका छन् । त्यस्तै ललितपुरको प्रशिक्षकमा प्रदिप हुमागाई रहेका छन् भने कप्तानी अन्जन विष्टले गर्ने छन् ।
नेपालमा पहिलो पटक हुन लागेको फुटबल फेन्चाइज प्रतियोगिता कुल सात टिमको सहभागिता रहेको छ । काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, पोखरा थन्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् । सुरुमा लिग चरणको खेलपछि इलिमिनेटरका खेल हुनेछन् । जेठ १ गतेसम्म चल्ने सुपर लिगको विजेताले ३५ लाख रुपैया पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले हिजो पत्रकार सम्मेलन गर्दै लिगको विजेताले ३५ लाख प्राप्त गर्ने जनाएको हो । यस्तै उपविजेताले १५ लाख पाउने छन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।