समाचार

सर्वजित गोङ्बा खेन्पो उपाधीबाट विभूषित


काठमाडौँ – सर्वजित गोङ्बा बौद्ध धर्म दर्शनमा विद्यावारिधी (पीएचडी) पश्चात् प्राप्त हुने पद खेन्पो उपाधीबाट विभूषित हुनुभएको छ । करिव २२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरिसकेसँगै उहाँलाई उक्त उपाधीबाट सम्मानीत गरिएको हो ।

मकवानपुरका हेटौंडा निवासी गोङ्बालाई श्री कर्म लेग्शेलिङ गुम्बा उच्च बौद्ध विश्वविद्यालय स्वयम्भूमा आयोजना गरिएको एक विशेष कार्यक्रमकाबीच छोड्जेन लामा फुन्छोक रुपोन्छेको बाहुलीबाट विशेष धार्मिक संस्कारका बिचमा खेन्पोको उपाधि प्रदान गरिएको थियो ।

खेन्पो उपाधीबाट विभूषित भएसँगै गोङ्बाले बुद्ध दर्शन असल जीवन जिउने पद्धति भएकाले यसलाई , यो बारे शिक्षा प्रणालीसँग जोड्दै बौद्ध विश्वविद्यालयको स्थापना गर्नु आवश्यक रहेको बताउनु भयो । साथै, उहाँले बौद्ध धर्मबारे समान बुझाई बनाउन आफुले भूमिका खेल्ने पनि बताउनु भएको छ । अहिले दिनप्रतिदिन विश्वमा बढ्दै गएको हत्या,हिंसा, अशान्ति जस्ता क्रियाकलापलाई बुद्धले दिनुभएको शिक्षाको अभावले भएको हुँदा बुद्ध धर्म दर्शनको शिक्षालाई विश्व जगत्भर फैलाउनु पर्ने उहाँले बताउनु भयो ।

विशाल सर्वव्यापी एंव वैज्ञानिक मानिएको बौद्ध दर्शनमा पीएचडीको उपाधि पाउनु निक्कै गाह्रो र कठिन कार्य मानिन्छ । बौद्ध विश्वविद्यालयमा खेन्पो भनिने यो उपाधी पाउन बौद्ध पञ्च महाशास्त्रको अध्ययन गर्नुपर्छ ।