अर्थनीति

निरन्तर उकालो लागेको सुनको मुल्यमा आज सामान्य गिरावट


काठमाडौँ – केही दिनयता लगातार उकालो लाग्दै आएको सुनचाँदीको भाउ आज ओरालो लागेको छ ।
आज नेपालको स्थानीय बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यो मूल्य बिहीबारको तुलना ५०० रुपैयाँले कम हो । बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि तेजावी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ३२० रुपैयाँ तोकिएको छ । सुनचाँदीको मू्ल्य अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव पर्ने गर्छ । विश्वबजारमा कच्चा तेलको मूल्यमा हुने परिवर्तनलेसमेत सुनको मूल्य घटबढ हुने महासंघको भनाइ छ ।