राजनीति

ओली र गौतमबीचको वार्ता असफल, खाँदा खाँदै बिचैमा उठेर हिडे वामदेव


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बिहीवार भएको डिनर मिटिङमा गौतमले ओलीको साथ नदिने गौतमका प्रेस सल्लाहाकार विष्णुमणि सुवेदीले जनाउनु भएको छ ।


हिजो बिहीबार ९ गते सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष ओलीले गौतमलाई पार्टी काममा आफूसँग फर्कन आग्रह गर्नुभएको थियो । उपाध्यक्ष गौतमले गत फागुन २८ गते गरेको निर्णय फिर्ता गर्न भनेसँगै प्रधानमन्त्री ओलीले सो निर्णय फिर्ता लिन नसक्ने जवाफ दिए पछि दुई नेताबीचको भेटवार्ता असफल भएको हो । वार्ता नमिलेपछि चलिरहेको डिनर टेबलबाट नै गौतम उठेर हिडेका थिए । ‘असंवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेंँ । उहाँले ती निर्णय फिर्ता हुँदैन भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’ सल्लाहाकार सुवेदीले उल्लेख गर्नु भएको छ । भेटवार्तामा ओलीसहित गौतम, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र एमालेका प्रमुख सचेतक विशाल भट्टराई सहभागी हुनुहुन्थ्यो ।

नेकपा एमालेभित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा बिहीवार राति ओली र गौतमबीच भेटवार्ता भएको हो । त्यसअघि अध्यक्ष ओलीले बिहीवार दिउँसो नेता माधव कुमार नेपालसँग काठमाडौँको एक होटलमा २ घण्टा ‘वान टू वान’ छलफल भएको थियो ।