राजनीति

सभामुख सापकोटाको मुद्दा हेर्न नभ्याइने


काठमाडौँ – सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । अन्य मुद्दाको चापको कारण सो मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा आज संवैधानिक इजलासको पेसीमा चढेको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र इश्वर खतिवडा रहनुभएको छ । सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो । हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो । यो रिट यसअघि १९ पटक पेसीमा चढेको थियो ।