राजनीति

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय


काठमाडौँ – सरकारले वैशाखभर शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णयसँगै यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ । यसअघि सीसीएमसीले संक्रमणको जोखिम भएका सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो ।