राजनीति

एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

बैठक रोक्न एमाले अनुशासन आयोगद्वारा अध्यक्ष ओलीको ध्यानाकर्षण


काठमाडौँ – नेकपा एमालेको अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीपक्षीय केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।
पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला ओलीले बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको नेता विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष ओलीले सांगठनिक प्रतिवेदन पेश गर्ने र प्रदेशगत रिर्पोटिङ हुने भट्टराईले बताउनुभयो । जिल्लाहरूका इञ्चार्ज र नेताहरूको कार्यविभाजन पनि बैठकको एजेण्डा रहेको छ । उप–निर्वाचन तयारीका विषयमा पनि छलफल गर्ने एजेण्डा तयार पारिएको छ । कर्णालीमा फ्लोर क्रस गर्ने सांसदहरूलाई कारबाहीको विषय पनि एजेण्डामा राखिएको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष विनै ओली पक्षले निर्णय गर्दै आएको छ । खनाल–नेपाल पक्षले भने ओलीको निर्णय विधान विपरित भएकाले उल्टयाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । एमाले अनुशासन आयोगले स्थिति थप असहज बन्ने भन्दै ओलीलाई बैठक रोक्न आग्रह गरेको छ । उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय नगर्न आयोगले ओलीको ध्यानाकर्षण गराएको छ ।