समाचार

सडक बन्द भएपछि एयरपोर्टमा ओइरिए मान्छे,भिड देख्दै अत्यास लाग्दो (भिडियोसहित)


काठमाडौँ – सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेसँगै सार्वजनिक यातायातमा पनि रोक लगेको छ भने आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान भने खुल्ला नै छन् । जसका कारण विमानस्थलमा यात्रुको भीड लाग्दा थप जोखिम बढेको छ ।

सरकारले निषेधाज्ञा गरेसंगै काठमाडौं छोडेर बाहिरिनेहरुको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लाग्दा थप जोखिम बढेको छ । सरकारले सार्वजनिक सवारीमा रोक लगाएपछि विमानस्थलको प्रयोग गरेर काठमाडौँ छोड्नेहरुको संख्या ह्वात्तै बढेको छ । जसकारण यतिवेला विमानस्थलहरु भरिभराउ छन् ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर आक्रामक भएसंगै काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । तर अन्तर्राष्ट्रिय र आन्तरिक उडान सेवा भने खुल्ला नै छ । यद्यपी ,कोरोना संक्रमण दर तीव्र रुपमा फैलिरहेको अवस्थामा विमानस्थल भएर जाने मानिसहरुले उचित स्वास्थ्य मापदण्ड अपानाएको भने देखिँदैन । विमानस्थलमा न्यूनतम सामाजिक दूरीको पालना पनि गरिएको छैन । तैपनि सार्वजनिक सवारी भन्दा विमानमार्फत नै सुरक्षित भइने सर्वसाधारणको बुझाइ छ ।

सरकारले हवाइ उडाउन गर्दा आन्तरिक उडानतर्फ जहाजमा पहिले जस्तै फेस सिल्डसहित मास्क, सेनिटाइजर अनिवार्य गरेको छ । प्रत्येक उडानपछि जहाज तथा ब्यागेजलाई निसंक्रमित गरिनुपर्ने छ । चेक–इन बोर्डिङ, ब्यागेज क्लेम, प्रतिक्षालायमा हुने भीडभाडमा रोक लगाइएको छ । तर, यो भीडले त्यस्ता कुनै पनि नियम पालना गरेका छैनन् । कोरोनाको दोस्रो लहरले भयावह रुप लिएको अहिलेको विषम परिस्थितिमा सरकार र नागरिक दुवै गम्भीर बन्न जरुरी छ ।