काठमाडौँ – कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याको छ ।
उक्त रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिएको छ ।
चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाएको मन्त्री केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश भित्रिने ४ वटा नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको बताउनुभयो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सर्वदलीय संयन्त्र निर्माण गरी कोभिड नियन्त्रणमा लाग्ने प्रस्ताव प्रदेशसभामा लैजान लागेको भन्दै सरकारले उक्त प्रयासलाई प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया